काठमाडौँ । अशोकुमार यादवको घर रौतहट फतुवा विजयपुर नगरपालिका वडा नं ५ हो । उनी ३२ वर्षका भए । उनको काम भनेको दिनभरी घरघरमा गएर बिग्रेको कुकर र ग्याँस चूलो बनाउने हो । उनी दश वर्षदेखि निरन्तर राजधानीमा संर्घष गरिरहेका छन् । अरुको घरघरमा डुलेर ग्याँस चूलो मर्मत गर्नु उनको दिनचर्या बनिसक्यो । यही कामले उनको जीवन चलिरहेको छ । यो कामबाट यादवको कहिले दिनको ३ सय कमाइ हुन्छ, कहिले भने त्यति पनि नभएर खान नै कठिन पर्छ ।
उनको परिवारमा एक छोरा, एक छोरी, श्रीमती अनि बुवाआमा छन् जो गाउँमै बस्छन् । विहान ९ बजेतिर कोठाबाट निस्केपछि उनी एकैपटक बेलुका ७ बजे कोठामा पुग्छन् । यो काम गरेर उनले दिनको कति कमाउँछन् भन्ने कुराको कुनै ठेगान हुदैंन । महिनामा भने १५ हजार देखि २५ हजारसम्म उनको कमाइ हुन्छ । आफ्नो गृह जिल्लाको वडाले आफूहरुजस्तो मान्छेको लागि कुनै सरोकार नदेखाएको उनको गुनासो छ । गाउँमा रोजगारको अभाव भएर आफू बाध्य भएर काठमाडौँ आउनुपरेको उनी बताउँछन् । उनको आफ्नो घर रौतहट जाने समयको कुनै ठेगान हुदैंन । कहिले तीन महिनामा जान्छन् कहिले छ महिनामा । गाउँमा छँदा उनी खेतीपाती गर्थे । उनले १२ कक्षासम्मको अध्ययन गरेका छन् । विदेश जानलाई ठूलो रकम चाहिन्छ जुन उनलाई जुटाउन गाह्रो छ । स्वदेश बस्दा पनि भने जस्तो काम पाइदैंन । त्यसैले उनले यो कुकर र ग्याँस मर्मत गर्ने कामको थालनी गरे । श्रीमती बिरामी भएर उपचार गराउँदा यादवलाई तीन लाखको ऋण लाग्यो । उनले सय कडाको ५ प्रतिशत ब्याजमा ऋण लए । ३ लाखको ऋण लिंदा उनले १२ लाखको कागजमा हस्ताक्षर गर्नुपर्यो । यही कुकर बनाउने काम गरेरै बिस्तारै बिस्तारै गरेर त्यो ऋण तिर्ने उनी बताउँछन् । ब्याज बढ्दै जान्छ तर उनीसंग अरु कुनै विकल्प छैन । उनी कमाउँदै बिस्तारै तिर्दै जाने सोच बनाएर काम गरिरहेका छन् । गाउँमा उनको दश कठ्ठाको खेतमा खेतीपाती छ । तर त्यसले पू्रै खान पुग्दैन । कुनैकुनै वर्ष किनेरै खानुपर्छ । तीन दाजुभाइमध्य सबैभन्दा जेठो यादव हुन् । कान्छो भाइ गाउँकै सरकारी स्कूलमा पढ्छन् । माइलो भाइ काम गर्दैछन् । घरको समस्याले गाजिएका उनले १२ कक्षापछि पढाइलाई निरन्तरता दिन सकेनन् । उनको गाउँको खेतमा धान, गहूँ र दालहरु फल्छ जुन उनको परिवारलाई खानकोलागि पर्याप्त हुदैंन । लामो समयदेदिख काठमाडौँ जस्तो चिसोे ठाउँमा बसेका यादवलाई अब रौतहटमा गएर खेतीपाती गर्न कठिन छ । यद्यपि उनी आफ्नो आमाबुवालाई खेतिपातीमा सहयोग भने गर्छन् । राज्यले रोजगारी नदिएको कारण उनको जीवन कठीन भएको छ । यादवको गाउँको अधिकांश युवाहरु १० कक्षा पास गर्नासाथ सुन्दर भविष्यको सपना देख्दै विदेश पुगेका छन् । यादव पनि अहिले गरिरहेको काम छोडेर फेरि ऋणमाथि ऋण लिएर विदेश जाने योजनामा छन् । अहिले गरिरहेको कामले बच्चाहरु पढाउन मुस्किल हुने भएर उनले विदेश जाने योजना बनाएका हुन् । विदेशमा गएर पनि दुख नै हुन्छ भन्ने उनलाई थाहा छ । यद्यपि विदेश गएपछि आफ्नो हातमा पैसा हुने उनी बताउँछन् । आउने पिढीको बारेमा केही नसोचेको कारणले उनलाई दुख पनि लाग्छ । पहिला खेतीपातीले उनलाई पुग्थ्यो । आजभोलि महंगी बढ्न थालेपछि उनको अवस्था नाजुक हुदैं गएको छ । उनी भन्छन्, ‘गाउँमा खेती गर्नको लागि पनि नेताका कार्यकर्ताहरुले मात्रै मल पाउँछन् । सामान्य जनताहरुले मल पनि पाउन मुस्किल पर्छ । नेताहरुलाई भोट त उनले पनि खसाल्छन् तर नेताहरुले उनी जस्तो विपन्न जनताको लागि केही गरेका छैनन् । नेताहरुले आफ्नो स्वार्थ मात्र पू्रा गरेका छन् । आफ्नो छोराछोरीलाई विदेश पठाएका छन् ।’ राज्यले युवाहरुलाई रोजगार दिनुपर्ने उनी बताउँछन् । उनी जस्तै कुकर मर्मत् गर्ने साथीहरु तीन÷चार जाना मिलेर बसुन्धारामा बस्छन् । उनको छोरा र छोरी गरेर दुइजना सन्तान छन् । सरकारले रोजगारको केही व्यवस्था गरिदिए छोराछोरीलाई पढाउन सजिलो हुने उनको धारणा छ ।
गर्मीको घाममा तातिदै उनी घरघरमा कुकर मर्मत गर्न पुग्छन् तैपनि भनेजति रकम पाउँदैनन् । कतिपयले त काम गरेको पैसा पनि नदिई उल्टै गाली गरेर पनि पठाउँछन् । यसरी मानवता हराउँदै गएको देखेर उनी निराश हुन्छन् । सरकार र राज्यसंग युवाहरुलाई गाउँगाउँमा पनि रोजगार दिन आग्रह गर्दछन् ।


