काठमाडौँ । बारा जिल्ला जितपुरकी शान्ता ढुंगेल काठमाडौँमा बसोबास गर्न थालेको चार वर्ष भयो । उनका दुई छोराहरू छन् । दुईचार पैसा कमाई होस् र जीवन सुन्दर होस् भन्ने उद्देश्यले उनी काठमाडौँ आइन् । उनको दिनचर्या दुईवटा थर्मसमा चिया बोकेर सुरु हुन्छ । एउटामा कालो चिया बोक्छिन् अनि अर्कोमा दूधको चिया बोकेर उनी गोठाटार बालुवाखानीको लभडाँडा जान्छिन् । दुबै थर्मसमा २५/२५ कप चिया बोक्छिन् । अर्थात् आधा आधा थर्मस । अन्य दिनमा उनले २५ देखि ३० कप चिया बेच्ने भए पनि शनिवारको दिन भने अलि धेरै चिया बेच्छिन
एक कप चियाको मूल्य २० रुपैयाँ देखि २५ रुपैयाँ सम्म पर्छ । तर चिया त्यसै फर्काएर घर लिएर जानुभन्दा कहिलेकाँही उनी १५ रुपैयाँमै चिया बेच्छिन् । उनको श्रीमानले पनि चिया नै बेच्ने उनी बताउँछिन् । दुबैजानाले आधा आधा थर्मस चिया बोकेर निस्किन्छन् बाहिर । यसरी चिया बेचेर उनी महिनाको १० देखि १५ हजारसम्म कमाउँछिन् । चिया बेच्ने बाहेक उनी गोठाटार , कागेश्वरी मनहरा ८ तेजविनायक विद्यालयमा पनि सरसफाइको काम गर्छिन् जहाँ उनलाई बस्नको लागि निशुल्क व्यवस्था गरिएको छ । विद्यालयको काम गरेर उनले महिनाको १२ हजार कमाउँछिन् । छोराहरु एकजाना १२ कक्षा र अर्को ५ कक्षामा पढ्छन् । स्वस्थ अवस्था स्थिर नभएपनि उनले काम भने गर्न छोडेकी छैनन् । उनको र श्रीमानको गरेर तलब गरेर महिनामा ४९ हजार कमाइ हुन्छ तर पनि छोराको भविष्य बनाउने ध्याउन्नमा सबै पैसा खर्च हुन्छ ।
१२ कक्षासम्म अध्ययन गरेकी ढुंगेलको जीवन दुख र गरिबीमा बित्यो । उनी चार वर्षको हुँदा बुवा बित्नुभयो। बुवाको अनुहार कस्तो थियो भन्ने उनलाई खासै सम्झना छैन । सातजना दिदीबहिनी मध्यकी ठूलीकान्छी ढुंगेलको जीवन कष्टकर नै छ । आनन्दले बसेर खान मन त उनलाई पनि छ तर पैसाको अभावले उनको त्यो इच्छा पूरा हुन सकेन । जीवनमा सम्झन लायकका खुशीका पलहरू उनीसँग केही पनि छैन । यद्यपि छोराछोरीले भने कुनै दुख नपाऊन् भन्ने उनको चाहना छ । बारा जिल्लामा उनको सानो घडेरी छ। बेलाबेलामा उनी त्यसको रेखदेख गर्न पनि उता पुग्छिन्। आउने बैशाखदेखि भने स्थायी रुपमा उतै बस्ने उनले निर्णय गरिसकिन् । बर्मा गए नि कर्म सँगै भने जस्तै उनको जीवन जता गए पनि कष्टकर नै छ । यद्यपि आफ्नो जीवन जस्तोसुकै भए पनि छोराहरूको भविष्य उज्ज्वल होस् भनेर उनीहरूलाई बोडिङ स्क भर्ना गरिदिएकी छिन।
जसोतसो गरेर छोराहरुलाई पढाउदै आएकी ढुंगेललाई अब भने जीवन यसरी चल्दैन भन्ने लाग्न थालेको छ । चार बर्षदेखि निरन्तर एउटै काम गर्दा उनलाई दिक्क पनि लाग्छ । तर पैसाको लागि फेरि सबैथोक बिर्सेर काममा निस्किन्छिन् । ठूलो पानी परेको बेला र आफू बिरामी भएको बेला मात्र उनले आराम गर्न समय पाउँछिन् । उनको अहिलेको एकमात्र चाहना भनेको छोरालाई पढाएर ठूलो मान्छे बनाउने हो । छोराको व्यवस्था गरिदिएर उनलाई आफ्नै गाउँ फर्किन मन छ । १९ वर्षको कलिलो उमेरमै विवाह बन्धनमा बाँधिएकी ढुंगेललाई आफू सम्पन्न भएको भए यतिधेरै दुःख गर्नुपर्दैन थियो जस्तो लाग्छ। माईतीमा पनि सानैदेखि जिम्मेवारी बोकेकी उनलाई विवाह गरेर श्रीमानको घर पुग्दा समेत जिम्मेवारीले छोडेन ।


