काठमाडौं । कीर्तिपुर भत्केपाटीका बासिन्दा सुरेश रम्तेल । राजधानीको सुन्धारामा फुटपाथका साना व्यापारी हुन् उनी । उनीसंग कुराकानी गर्दा उनको पारिवारिक बिछोडका कुरा, वैवाहिक सम्बन्धको रमाइलो पक्ष र जिन्दगीका पाटाहरु निकै रोचक लागे । आज हामी उनै सुरेश रम्तेलले अहिलेसम्म चाखेको जिन्दगीको स्वाद, परिवारको माया नपाएको गुनासा र संघर्षले भरिपूर्ण आत्मकथा सुनाउँदैछौं ।
चार जना सन्तानमध्ये परिवारका कान्छा छोरा थिए, सुरेश । उनी मात्रै नौ वर्षका थिए, जब उनले आमाको न्यायो काख र माया गुमाए । आमा स्वर्गबास भइसकेपछि उनी विक्षिप्त अवस्थामा थिए । आर्थिक अभाव त थियो नै पारिवारिक खण्डनले पनि उनलाई मानसिक तनाव दिएको थियो । उनी आमा बितेको एकै वर्षमा घर छोडी भागे । घर छोडेका सुरेशले पहिलो चोटी बाहिर निस्किएर होटलको काम गरे, मात्रै ३ सय रुपैयाँमा । आमा नभएको शोकमा डुबेका उनी आफूले कमाएको पैसा नपाउँदा झनै मानसिक समस्यामा परे । 'अनि जिन्दगीमा आमाको मायाको अभाव खट्की नै रह्यो । मेरो आमा भइदिएको भए, मैले यस्तो दुःख पाउँथिन होला, उहाँहरुले मलाई धेरै माया गर्नुहुन्थ्यो होला ।'
आमा नभएपछि बुबा छन् घरमा, अभिभावक छन् भन्ने अनुभव थियो उनलाई । तर जब उनी १८ वर्ष पुगे, लामो समयसम्म पत्नी वियोगले थलिएका सुरेशका बाको पनि निधन भयो । उनले सानै उमेरमा आमा र बा दुवैको माया अनि सहारा गुमाएकाले आफ्ना दुई छोरीलाई भने खुब माया र सहारा दिन्छन् । उनलाई लाग्छ, 'आफूले त माया पाइन तर मेरा छोराछोरीलाई सुरेशले जस्तो अनुभव अनि गुनासो गर्ने ठाउँ नपाऊन् भन्नेमा लागिपरेकै छु ।'
होटलको कामका सिलसिलामा उनी नेपालका धेरै स्थान घुमे । तर घुमघामले मात्रै राम्रो कमाइ नभएको देखेर उनले फुटपाथ व्यवसाय गर्ने निर्णय गरे । ४६ वर्षका सुरेश फेरि आफ्ना पुराना दिन सम्झन्छन्, 'म १८ बर्षको हुँदा फिल्म हेर्न जाँदा मेरो भेट एक जना युवतीसंग भयो । दुवै जना फुटपाथ व्यापारी भएकाले मन पनि उस्तै गरी मिल्यो ।' त्यसपछि ती युवतीसंग उनको प्रेम विवाह भयो । उनको वैवाहिक जीवन ठिकठाक चल्दैथियो । उनलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण स्मरणमा छ, 'पहिलो सन्तानका रुपमा छोरी जन्मिएपछि मैले ठुलो खुसीको अनुभव गरेँ ।'
जीवनमा खुसी नै थिए उनी । क्याटरिङको काम पनि गर्दै थिए । क्याटरिङको काम सिजनल हुने भएकाले उनी फुटपाथको व्यापारमा लागे । अनि होटलमा प्रयोग हुने सामान फुटपाथमा बेच्न थाले । राम्रै काम गर्दै जाँदा फुटपाथमा किन व्यापार थाल्नु भयो भन्ने प्रश्नमा उनी भन्छन्, 'आमा बुबा भएको भए फुटपाथमा आउने थिइन । फुटपाथमा आउने कसैको रहर हुदैन मान्छेको बाध्यता नै हो । उनलाई लाग्छ, 'त्यत्तिकै बस्नु भन्दा बरु आफैले केही गरेर कमाउन सक्नु नै ठुलो हो ।'
आफनो जीवनमा जति दुःख गरे पनि अब यस्तै खाले दुःख उनका सन्तानले नपाऊन् भन्ने चाहनाले उनी दिनरात कडा मेहनत गर्छन । अनि छोरीहरुलाई राम्रो शिक्षा दिक्षा दिने चाहना राख्छन् ।


