Logo

आइतबार, भदौ ७ २०८३

आइतबार, भदौ ७ २०८३

थिमी विशेष

विदेशिने प्रवृत्तिले सयौं वर्षको पुस्ता अन्त्य हुँदै

विदेशिने प्रवृत्तिले सयौं वर्षको पुस्ता अन्त्य हुँदै

'छोराछोरीको भर नपर्नु, बिचल्ली पार्छन्'

सोमबार, साउन १२ २०८२
सोमबार, साउन १२ २०८२

  • काठमाडौं । सुन्दर पर्यटकीय नगरी, मध्यपुर थिमीमा पाको उमेरका पुस्ताहरुको बसाई बाक्लो छ । विशेषगरी थिमीको नगदेश वडामा भेट भएका दिलकुमार बाडेको पुस्तौंपुस्तादेखि धानेको परिवार उनका एक मात्र छोरा परदेश गएपछि खण्डित  भएको छ ।

    images

    उनको पुस्ता उनी छउञ्जेल मात्रै हो, त्यसपछि नगदेशमा उनको घरमात्रै रहन्छ । दिलकुमारको नयाँ पुस्ता युरोपमै स्थायी बसोबास गर्छन् । करिब ३ सय वर्ष पुरानो बाडे परिवारको पुस्ता नगदेशमा जरो गाडेर बसेको छ । नगदेशको सिद्धि गणेश मन्दिर छेउमै रहेको पाटीको भजन समितिमा लिखित रुपमा जिजु हजुरबुबा देखिको नाम छ । लेख्ने युग भन्दा पहिले पनि आफ्नो पुस्ता नगदेशमै बस्ने गरेको दाबी दिलकुमारको छ ।

    वाक्यको अन्त्यमा फिस्स हाँसेर जवाफ दिने दिलकुमारलाई परिवार विखण्डन र नगदेशमा आफ्नो पुस्ताको अस्तित्व अन्त्य हुने डरले सताउँछ । बाडे पुस्ताले गाडेको जड उनैका छोरा विदेशिएपछि उखेलिने निश्चित प्राय छ । किनभने, दिलकुमारलाई उनका छोरा, बुहारी अनि नाती नातिनी फेरि नेपाल वा भनौं नगदेश फर्किएलान् भन्ने रत्तिभर आश पनि छैन् । उनी आफै प्रश्न गर्छन, 'युरोप गएको मान्छे फर्किन्छन् र ? चाडबाडमा दुई वर्षको एकचोटी भतेर खान आउने पाहुना पो हुन् त छोराछोरी भनेका ।' 
    ६१ वर्षका दिलकुमारलाई आफ्नो पुस्तेनी घर भएको नगदेश वडा असाध्यै मन पर्छ  तर १० महिनाअघि उनका इन्जिनियर छोरा विदेशिएपछि उनलाई एउटै मात्र चिन्ता छ, छोराछोरीको भर लागेर जिन्दगी  नबित्ने रहेछ, आफ्नो बुढेसकालको सहारा यही पैसा मात्रै रहेछ । उनी भन्छन्, 'म गरिब परिवारमा जन्मेँ । धेरै दुख गरेँ ।  बुबाले म ११ वर्षको हुँदै छोडेर गए । हामीले खेती किसानी गर्यौँ । उत्पादन भएको कुरा असनतिर एक्लै काँधमा बोकेर जान्थेँ । एकै चोटीमा ७० किलोको गाँजर बोक्ने किसान थिएँ । यसै गरेर छोराछोरी पढाएँ । छोरा इन्जिनियर भए र छोरीले मास्टरसम्म पढी । तर अहिले हामी बुढाबुढी एक्ला छौं ।' 
      
    हुन त उनकी जीवनसंगिनी दिलकुमारसंगैं छन्, तर उनलाई आफ्ना नाती, पनातीको अनुहार हेर्ने मन छ, आफ्नो छोरा बुहारीले विरामी हुँदा तातो पानीसंग औंषधि खुवाओस भन्ने चाहन्छन् । यी पिडालाई उनी हाँसी खुसी भुलाउँछन्, पाटीमा भजन सुनेर । 

    'सुगर भएको दश वर्ष भयो । इन्सुलिन लिन्छु । बिहान मर्निङ वाक गर्छु । औषधी डाक्टरको हिसाबले खादिनँ । किनकी उल्टोपाल्टो भन्छन् । छोरीको नारायणटारमा विहे भयो । अहिले हामी दुई जना छौँ । खासै कुरा हुँदैन । खाना पनि सँगै खाइदैन ।' उनका एक्लोपनाका पिडा पोखिन्छन् यस्ता वाक्यका भावहरुमा ।

    युनेस्कोको यात्रामा मध्यपुर थिमी:चुनौती कति? युनेस्कोको यात्रामा मध्यपुर थिमी:चुनौती कति?

    छोरा विदेशिएपछि उनलाई पारिवारिक जमघटमा पनि कुनै चासो छैन । जात्रैपिच्छे पाहुना आउने चलन उनको परिवारमा छैन । उनलाई अहिलेसम्मको अनुभवमा जिन्दगी के रहेछ भनेर सोध्दा, पैसा जस्तो महत्वपूर्ण जिन्दगीमा केही होइन् भन्ने जवाफ दिन्छन् । अनि आफू जस्तै पाको उमेरका लागि सन्देश दिन्छन्, 'छोराछोरीको भरमा नबस्नु, दुःख पाइन्छ ।' सायद उनले आफ्ना छोराछोरीबाट धेरै आशा राखेका थिए, तर त्यो आशा र माया नपाएपछि उनी जिन्दगीमा एक्लो महशुस गर्दैछन् । 

    उनी परिवारको न्यानोपन खोज्न भौतारिँदै छन् नगदेशमा । एक्लोपनाले गाँजेको दिलकुमारको दिलमा लागेको अदृश्य चोटमा मलम लगाउने को त ? 

    images
    images
    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to voxpopnepal.com | Site By : Sobij