काठमाडौं : प्रकृति बचाउका लागि टेबल टु जंगल बोटविरुवा अभियान शुरु भएको छ । भक्सपप नेपाल र बोट बिरुवा उत्पादन गरिरहेको संस्था एफएस फारको सहकार्यमा उक्त अभियान अघि बढ्ने सुरु भएको हो । प्रकृति बचाउनका लागि मुख्यतया पाँच विरुवालाई पञ्चतत्वको अवधारणाका रुपमा लिएर अभियान सुरु भएको अभियन्ता पिके शेर्पाले बताए ।
ब्रह्माण्डको सृष्टि पञ्चतत्त्वबाट भएको भनिए पनि यसको आवश्यक प्रचारप्रसार नहुँदा यसबारे सर्वसाधारणमा सामान्य ज्ञानको समेत अभाव छ । भौतिक मात्र होइनन्, यी पञ्चतत्व आध्यात्मिक ऊर्जा वा चेतनासँग पनि जोडिएको बताउँदै शेर्पाले एफएसफारले उत्पादन गरेका बिरुवालाई गमलामा राखी विभिन्न कार्यालय र घरमा पुर्याउने अभियान थालिएको जानकारी दिए । उनले भने, 'पञ्चतत्व भनेर सुने पनि यसबारे ज्ञान भने किताबमा मात्रै सिमित छ । यहीबारे हामी सबैजनालाई सुचित गर्न चाहन्छौं ।'
जीवन, प्रकृति, स्वास्थ्य, र अध्यात्मको दृष्टिकोणले महत्वपूर्ण मानिने पञ्तत्व मानव अस्तित्व, चेतना, र जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित छन् । टेबल टु जंगल अभियानमा एफएसफरले उत्पादन गर्ने बिरुवालाई पाँच वटा गमलामा राखेर हरेक पञ्चतत्वको नाम र महत्वबारे लेखिएको स्टिकर टाँसिनेछ । भक्सपप नेपालले यो अभियानको प्रचारप्रसारमा सघाउँनेछ ।


