काठमाडौँ । आकृति कार्की हाल पढ्दै र आइटी कम्पनिमा काम पनि गर्दैछिन् । नेपालमा मेहनत गरेर पनि त्यस अनुसारको प्रतिफल खासै आएको जस्तो देखिदैंन । युवाहरूलाई आफ्नो देश सुधार्ने र यहीँ केही गर्ने मन हुँदाहुँदै पनि उनीहरू विदेशिन बाध्य छन् । यसको मुख्य कारण यहाँको आर्थिक असमानता हो ।
एउटा सामान्य मान्छेले काठमाडौँमा काम गर्दा पाउने तलबले कोठा भाडा जस्ता अत्यावश्यक खर्चहरू पनि धान्न गाह्रो हुन्छ । आकृति भन्छिन् ‘विदेशमा जस्तो दुःख गरिन्छ, कमाइ पनि त्यही स्तरको हुन्छ, जसले गर्दा नेपालमा रहेको परिवारलाई राम्रो जीवन दिन सकिन्छ ।’ त्यसैले, यहाँ दुःख गर्नुभन्दा विदेश गएर बरु भाँडा माझ्नु वा अन्य सामान्य काम गर्नु पनि उनीहरूका लागि सहज विकल्प हुने आकृति बताउँछिन् । विदेशमा काम गरेको पैसाले कम्तीमा पढाइ खर्च तिर्न पुग्छ, जुन नेपालमा सम्भव हुँदैन ।
नेपालको शैक्षिक प्रणालीमा पनि समस्या भएको उनको भनाई छ । त्रिभुवन विश्वविद्यालय मा ४ वर्षको कोर्स ५ वर्षसम्म लाग्ने ढिलासुस्तीले गर्दा समय खेर फाल्नुभन्दा युवाहरू छिटो प्रगति गर्न विदेश जान हतार गर्छन् ।
सरकारले युवाहरूलाई अवसर दिन नसकेको मात्र होइन, उल्टै विभिन्न सरकारी प्रक्रियाले समस्या पनि थपेको छ । एउटा सामान्य व्यक्तिलाई पासपोर्ट बनाउन पनि ४५ दिन लाग्छ, जबकि पहुँच र पैसा हुनेका लागि काम तुरुन्तै अर्थात् ५ दिनभित्र हुन्छ । साना व्यवसाय गर्नेहरूका लागि पनि उच्च कर र भ्रष्टाचारले गर्दा यहाँ नाफा कमाउन कठिन छ, जसले गर्दा उद्यमशील युवाहरू समेत निराश बन्छन् ।
आकृतिले घुम्नका लागि दुबई जाँदा त्यहाँ देखेको व्यवस्थापनबाट निकै प्रभावित भईन् । दुबईका सडकहरूमा ट्राफिक व्यवस्थापन उत्कृष्ट छ । जेब्रा क्रसिङमा बटन थिचेपछि गाडी रोकिन्छ र बाटो काट्न सुरक्षित हुन्छ । त्यहाँ हर्न नबजाउने र लाइसेन्स नभएकालाई कडा जरिवाना गर्ने नियमहरू छन्, जसले गर्दा सडक सुरक्षित बनेको छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, दुबईमा उनले भेटेका मानिसहरू, विशेषगरी नेपालीहरू, एकदमै सहयोगी र दयालु थिए जुन अनुभवले उनलाई नेपालको भन्दा भिन्न र सकारात्मक महसुस गरायो ।
नेपालका युवाहरू विदेश गएर अर्काको देश सुधार्नु चाहदैनन् । उनीहरूलाई आफ्नै देशमा राम्रो गर्न मन छ । यदि नेपाल सरकारले यहाँ एउटा यस्तो वातावरण सिर्जना गर्न सक्यो भने युवाहरूको बाध्यता समाप्त हुनेछ र उनीहरू देशमै बस्नेछन् ।


