काठमाडौं । हिजो सोमबार गरेको आन्दोलनमा सरकारले चरम दमन गरेको भन्दै आज मंगलबार विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ । जेन जी आन्दोलनको दोश्रो दिन आज कर्फ्यूका बाबजुद प्रदर्शनकारीहरु राजनीतिक दलका नेताका घरमा आगजनी, घेराउ तथा तोडफोडमा उत्रिएका छन् ।
प्रहरी स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा बोहोराटारमा पनि आक्रोशित समूहले आगजनी गरेका छन् । त्यस्तै प्रधानमन्त्री केपी ओली निवास बालकोटमा पनि आन्दोलनकारीले तोडफोड गरेको समाचार छ । तोडफोड गर्ने भीडलाई निस्तेज बनाउन सुरक्षा निकायबाट गोली प्रहार भएको समाचार प्राप्त भएको छ ।
यसैबीच ललितपुरको सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । सुरुमा तोडफोड गरेर सुरक्षा घेरा तोडेर अघि बढेको आन्दोलनकारीको भीडले केही समयमै निवासमा आगजनी गरेका थिए ।आगो नियन्त्रणमा आइसकेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
यसैबीच केही प्रदर्शनकारीले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास आगलागी गरेका छन् । आगजनीमा उत्रिएका आक्रोशित युवालाई तितरवितर पार्न सुरक्षा कर्मीबाट केही राउण्ड गोली चलेको छ ।
त्यस्तै आक्रोशित एक समूह माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ । सुरक्षा घेरा तोड्दै भित्र जान खोज्ने समूहलाई रोक्ने हर प्रयासमा सुरक्षाकर्मी तैनाथ छन् ।
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित नीजि निवासमा आक्रोशित युवाले आगो लगाएका छन् ।सुरुमा प्रदर्शनकारीले थापाको घरमा रहेको गाडीमा आगजनी गरे ।
भर्खरै प्राप्त समाचार अनुसार ललितपुरमा रहेको मन्त्री क्वार्टरमा पनि आक्रोशित भीडले आगजनी गरेको छ । क्वार्टरमा आगजनी गरेका हुन् ।
आज बिहानैबाट चर्किँदै गएको आन्दोलनका क्रममा कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो ।
प्रर्दशनकारीको निसानामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को कार्यालय पनि परेको छ । आन्दोलनकारीहरुले अर्घाखाँची जिल्लाको सन्घिखर्कमा रहेको रास्वपाको जिल्ला कार्यालय तोडफोड गरेका छन् । आज बिहानदेखि सन्धिखर्कमा पनि प्रदर्शन गरिरहेका युवाहरुले रास्वपाको कार्यालयमा तोडफोड गरेका छन् ।
यसैक्रममा च्यासलस्थित एमाले मुख्यालयमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् ।

हिजो भएको प्रर्दशनपछि जिल्ला प्रशासन कार्यलयले आज बिहान साढे ८ बजेदेखि लागू हुनेगरी चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जारी गरेको छ । काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा कफ्र्यु आदेश जारी गरेको छ ।
कफ्र्यु आदेश जारी गरिएको क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने जिल्ला प्रशासन कार्यलयले जनाएको छ । यद्यपि कफ्र्युको अवज्ञा गर्दै आज पनि प्रर्दशनकारीहरूले बानेश्वर लगायत विभिन्न क्षेत्रमा प्रर्दशन गरिरहेका छन् ।

जेन जीको आन्दोलनमा विभिन्न व्यक्ति तथा पार्टीहरुले समर्थन जनाउने क्रममा जारी छ । आन्दोलनको समर्थन गर्दै विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ पनि सडकमा उत्रिएका छन् ।
सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आन्दोलनमा उत्रिएका जेनजीका युवाहरूमाथि हिजो प्रहरीले चरम दमन गरेको थियो। साथै प्रहरीले चलाएको गोली लागेर कम्तीमा १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन् ।


