काठमाडौं। राष्ट्रिय अपाङ्ग कोष र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको साझेदारीमा आर्थिक वर्ष २०८२/८३ अन्तर्गत दोस्रो चरणको सहायक सामग्री वितरण कार्यक्रमअन्तर्गत शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय अपाङ्ग कोषको कार्यालयमा ४० जना अपाङ्गता भएका व्यक्तिलाई ४८ थान सहायक सामग्री हस्तान्तरण गरिएको छ । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशको सहकार्य र सिफारिस भएका ब्यक्तिहरुको पनि सहभागिता रहेको थियो ।

वितरण गरिएका सामग्रीमा ह्विलचियर, कृत्रिम खुट्टा, केएएफओ (KAFO), एएफओ (AFO), एल्बो क्रच, अर्थोपेडिक जुत्ता र ट्वाइलेट चेयर लगायतका सामग्री रहेका थिए। यी सामग्रीले अपाङ्गता भएका व्यक्तिको दैनिक जीवनयापनलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको कोषले जनाएको छ।

राष्ट्रिय अपाङ्ग कोषका सदस्य सचिव भिमा खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र वादे प्रमुख अतिथि थिए। कार्यक्रममा बोल्दै मन्त्री वादेले अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, पुनःस्थापना तथा जीवनस्तर सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए।
उनले सहायक सामग्री वितरण कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उल्लेख गर्दै आवश्यक बजेट व्यवस्थापन र सेवा विस्तारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए।
कार्यक्रमको सुरुमा राष्ट्रिय अपाङ्ग कोषका पी एन्ड ओ रामबहादुर थापाले स्वागत मन्तव्य राख्दै वितरण गरिएका सहायक सामग्रीको प्राविधिक पक्ष, उपयोगिता तथा प्रयोगबारे जानकारी दिएका थिए।
राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष उपेन्द्र श्रेष्ठले आर्थिक वर्ष ८१-८२ मा अपाङ्गताभएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण कार्यक्रमकालागि बजेट विनियोजन भएको तर ८३-८४ मा नभएको भन्दै मन्त्री समक्ष ध्यानाकर्षण गराएका छन् ।
सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारी र समाज कल्याण परिषद् व्यवस्थापन विभागका प्रमुख खगनाथ रेग्मीले अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सहायक सामग्री उपलब्ध गराउन बजेटको निरन्तरता आवश्यक रहेको बताए। उनीहरूले पुराना सहायक सामग्रीको मर्मतसम्भारसँगै आवश्यकताअनुसार नयाँ प्रविधियुक्त सामग्री उपलब्ध गराउन सम्बन्धित निकायले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा समाज कल्याण परिषद्का प्रतिनिधि रमेशराज अर्याल, सामाजिक विकास मन्त्रालयका शाखा प्रमुख रामचन्द्र गिरि, महिला तथा बालबालिका शाखाकी प्रभा दलीलगायत विभिन्न सरकारी निकायका प्रतिनिधिको उपस्थिति थियो।

कार्यक्रमका क्रममा मन्त्री वादे, सदस्य सचिव खतिवडा र प्राविधिक टोलीले संयुक्त रूपमा सेवाग्राहीलाई सहायक सामग्री हस्तान्तरण गरेका थिए। सामग्री प्राप्त गरेका सेवाग्राहीले यस्ता सामग्रीले दैनिक जीवन सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।
समापनमा सदस्य सचिव खतिवडाले मन्त्रालय र सहकार्य गर्ने निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहायक सामग्री वितरण र पुनःस्थापना सेवाको दायरा थप विस्तार गर्ने योजना रहेको बताए।


